बिरगंज, असोज २७ 

जिल्ला प्रहरी कार्यालय पर्साले पर्सागढी नगरपालिका–५ का वडा अध्यक्ष नितेश मिश्र (चुनु मिश्र) सहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

पर्सा जिल्ला अदालत वीरगञ्जबाट पक्राउ अनुमति प्राप्त भएपछि प्रहरीले सोही अनुसार पक्राउ प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार पर्सागढी–५ का मञ्जीव मिश्रद्वारा दर्ता गरिएको ‘ज्यान मार्ने उद्योग मुद्दा’ का आधारमा वादी नेपाल सरकार र प्रतिवादी बृजकिशोर मिश्र सहित अन्य व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको छ ।

उक्त जाहेरीको अनुसन्धानका क्रममा प्रमाण लोप हुने र अभियुक्तहरू फरार हुने सम्भावना देखिएकाले प्रहरी प्रशासनले अदालतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९(३) अनुसार पक्राउ अनुमति मागेको थियो ।

अदालतबाट अनुमति पाएपछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार वडा अध्यक्ष नितेश मिश्र हालसम्म फरार रहेका छन् भने उनका बुवा चन्द्रमा मिश्रलाई नियन्त्रणमा लिएर पर्सा अदालतमा पेश गरी ३ दिनको म्याद थप गरिएको छ ।

पक्राउ पुर्जी जारी भएकाहरूको विवरणः

१. बृजकिशोर मिश्र (५० वर्ष), पर्सागढी–५, बहुअर्वा टोल

२. रविरंजन मिश्र (पिन्टु) (३० वर्ष), सोही ठेगाना

३. नितेश मिश्र (चुनु मिश्र) (३५ वर्ष), सोही ठेगाना – वडा अध्यक्ष

४. राकेश मिश्र (३८ वर्ष), सोही ठेगाना

५. रुपेश मिश्र (३४ वर्ष), सोही ठेगाना

६. चन्द्रमा मिश्र (६५ वर्ष), सोही ठेगाना

प्रहरीका अनुसार हालसम्म वडा अध्यक्ष नितेश मिश्र फरार छन् भने अन्य अभियुक्तहरूको खोजी र अनुसन्धान कार्य जारी रहेको छ ।