वीरगञ्ज, साउन ९ – सोमबार सम्पन्न राष्ट्रिय तेक्वान्दो टोली छनोट प्रतियोगितामा वीरगञ्ज तेक्वान्दो डोजाङ्गका दुई खेलाडी आफताब आलम र ज्याकी यादवले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थानमा नाम लेखाएका छन् । यो जितसँगै उनीहरूले अब नेपालको तर्फबाट अन्तर्राष्ट्रिय तथा विश्व तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् ।
नेपाली सेनाबाट प्रतिस्पर्धा गरेका आलमको अनुशासित खेलकौशलले सेनाको मात्र होइन, सम्पूर्ण राष्ट्रको गौरव बढाएको छ । अर्का विजेता यादवले पनि आफ्नो जोश र क्षमताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको झण्डा फहराउने बाटो खोल्न सफल भएका छन् ।
डोजाङ्गका प्रशिक्षक महम्मद शकिलले दुई खेलाडीको सफलता केवल व्यक्तिगत मात्र नभई सम्पूर्ण वीरगञ्ज समुदायकै गर्वको विषय भएको बताए । “यस उपलब्धिले अन्य युवाहरूलाई पनि खेलकुदतर्फ आकर्षित गर्नेछ भन्ने विश्वास हामीलाई छ,” उनले भने ।
यस्तै, प्रशिक्षक महम्मद वैशले यो उपलब्धि प्रशिक्षणको गुणस्तर र खेलाडीहरूको निरन्तर मेहनतको प्रमाण भएको उल्लेख गरे । उनले थपे, “अब उनीहरूले अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई गौरवान्वित गर्नेछन् भन्नेमा हामी विश्वस्त छौँ ।”
स्थानीय स्तरमा पनि आलम र यादवको सफलता प्रेरणादायी बनेको छ । खेलप्रेमीहरूले यो जितलाई वीरगञ्जका युवालाई खेलकुदमा अझै सक्रिय हुन प्रेरित गर्ने महत्वपूर्ण उपलब्धि भन्दै प्रशंसा गरेका छन् ।