मौसमी फ्लूको लक्षण देखिएका केही बिरामीहरूमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको बताइएको छ।

तर सामान्य रुघाखोकी र ज्वरोका लक्षणसँग यसको लक्षण मिल्ने हुँदा धेरै मानिसहरूले परीक्षण नै नगराउने अधिकारीहरूले बताएका छन्।

जसका कारण सरकारी तथ्याङ्कमा कोभिडको नयाँ बिरामीहरूको सङ्ख्या नसमेटिएको हुनसक्ने ठानिएको छ।

पछिल्लो विवरणअनुसार गत २४ घण्टामा कुल १०४३ जनामा कोरोनाभाइरस परीक्षण गर्दा जम्मा तीन जनामा सङ्क्रमण पुष्टि भएको थियो।

लक्षण देखिए पनि निकै कम मानिसले परीक्षण गर्ने भएकाले सङ्क्रमितको सङ्ख्या यकिन हुन नसकेको बताउँछन् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका विज्ञ डा. शेरबहादुर पुन।

उनले भने, "आजभोलि विदेश जाने वा काम विशेषले अनिवार्य गर्नुपर्ने भए मात्र परीक्षण गरेको पाइन्छ। कति त मौसमी फ्लू नै ठानेर घरमै बसेर ठीक पार्न खोज्नु हुन्छ।"

कति सङ्क्रामक?

विश्वव्यापी परिप्रेक्ष्यमा कोभिड शून्य नभइसकेको र एक देशबाट अर्को देशसम्म मानिसहरूको आवतजावत बढिरहेकाले सङ्क्रमण देखिनुलाई स्वाभाविक ठान्छन् डा. पुन। तर, यो अब सङ्क्रमणको पहिलो र दोस्रो लहरमा जस्तो सङ्क्रामक नबन्ने उनको आकलन छ।

“नेपालको हकमा भारतसँगको खुला क्षेत्रबाट दैनिक हजारौँ मानिस प्रवेश गर्छन्। त्यहीँबाट पनि सङ्क्रमण आउला। तर, सकारात्मक कुरा के हो भने कोभिड पहिलेजस्तो चुनौतीपूर्ण बन्दैन,” उनले भने।

“सङ्क्रमण हरायो भन्न सकिँदैन। भाइरस रहेछ भने पनि यो चुनौतीपूर्ण कुरा भने रहेन भन्ने मेरो भनाई हो।”

भाइरस कम घातक हुनु र मानिसहरू सतर्क बन्नुले पनि सङ्क्रमण नियन्त्रणमा रहेको उनको ठहर छ।

लक्षण कस्ता?

महामारीको सुरुवातदेखि नै श्वासप्रश्वासमा असहजता, थकाइ, शरीर दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने, नाक बन्द हुने, पखाला लाग्ने आदिलाई कोभिडको प्रमुख लक्षण मानिएको छ।

कोभिड-१९ को सङ्क्रमण र मौसमी फ्लूको लक्षण मिल्दो भए पनि यी दुई समस्याहरूमा केही भिन्नता देखिने बताउँछन्, डा. विमल शर्मा चालिसे।

“लक्षण उस्तै भए पनि कोभिड हुँदा फ्लूमा जस्तो सिँगान बग्दैन। हाच्छिउँ आउँदैन,” उनले यसअघि बीबीसीसँग भनेका थिए। कोभिड हुँदा बिरामीले स्वाद र गन्ध थाहा नपाउने उनले बताए।