१६ जेठ बीरगंज -सशस्त्र प्रहरी बल पर्साद्वारा भन्सार छलि गरिएका विभिन्न सामान नियन्त्रणमा लिएका छन्।
सशस्त्र प्रहरी बल,नेपाल बि.ओ.पि.ड्राईपोर्टबाट खटिएको टोलिले बीरगंज महानगरपालिका-२५ स्थित चण्डालचोकबाट भारतबाट अवैध रूपमा भन्सार छलि प्रदेश नं. २-०३-००१ स ४२६४ नम्बरको ई-रिक्सामा लोड गरि ल्याउँदै गरेको मूल्य रु. २,७०,००० बराबरको मोटर पार्ट्स र रु. २,००,००० बराबरको ई-रिक्सा नियन्त्रणमा लिएको छ। यी सामानहरू वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइ आवश्यक कारवाहीको लागि पठाइएको छ।
आजकै मितिमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी प्र. सी. सु गुल्म वीरगंजबाट खटिएको टोलीले बीरगंज महानगरपालिका-१६ स्थित नगुवा गाउँस्थित डम्पिङ साईटबाट भारतबाट अवैध रूपमा भन्सार छलि ४ वटा साइकलमा लोड गरि ल्याउँदै गरेको मूल्य रु. ८,३६,९५० बराबरको मोबाइल पार्ट्स, फुटबल जुत्ता, लेडिज तथा जेन्ट्स जुत्ता नियन्त्रणमा लिएको छ। यी सामानहरू पनि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइ आवश्यक कारवाहीको लागि पठाइएको छ।
यसैगरी भगुवा र नगुवा क्षेत्रबाट रु. ७३,८०० बराबरको कपडा र किराना सामान समेत नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।
सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहका अनुसार, यी नियन्त्रण कार्यहरू विशेष सूचनाका आधारमा गरिएको हो र भन्सार छलि गरिएका सामानहरूको नियन्त्रण र कारवाही निरन्तर जारी रहने जानकारी दिएका छन्।
यसरी, सशस्त्र प्रहरी बलको सक्रियताले पर्सा जिल्लामा भन्सार छलि र अवैध व्यापारमा कमी ल्याउन मद्दत पुर्याएको छ। यसले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधिहरूलाई नियन्त्रणमा राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।