११ भदौ बीरगंज- नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध कारोबार, भन्सार छल र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी बल पर्साले पछिल्ला दिनमा निरन्तर कारबाहीलाई तीव्रता दिएको छ। सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टको नेतृत्वमा भएको अभियानले यस क्षेत्रमा तस्करी नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको छ ।
वीरगंज महानगरपालिका–१० अशोक बाटिकास्थित सिता थापाको घरमा भारतबाट भन्सार छली गरी ल्याई भण्डारण राखिएको कपडा, Afzal Double Apple Flavour र किराना सामान बरामद गरिएको छ। सोही स्थानमा भारतीय नम्बर प्लेट BR 22 S 0701 को मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा समेत सामान फेला परेको छ ।
बरामद गरिएका सामानहरूको भन्सार मूल्य रु. १७,८५,७३६ र मोटरसाइकलसहित कुल रु. १९,२५,७३६ बराबरको सम्पत्ति आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिएका छन् ।
एसपी भट्टले सीमाक्षेत्रमा भइरहेका साना–ठूला अवैध कारोबार, भन्सार छल र तस्करीजन्य गतिविधिहरूलाई रोकथाम गर्न तत्काल प्रतिक्रिया दिन सक्ने प्रणाली विकास गर्न निर्देशन दिएका छन् ।
उनको नेतृत्वमा खटिएका टोलीहरूले सूचना संकलन, तत्काल परिचालन र प्रभावकारी कारबाही गर्ने अभ्यासलाई संस्थागत बनाइरहेका छन् । यस कदमले तस्करहरूलाई नियन्त्रण गर्ने मात्र नभई सीमा क्षेत्रमा कानूनी व्यवसायलाई प्रोत्साहन दिने वातावरण पनि बनाएको छ ।
सुरक्षामा जनविश्वास
तस्करी नियन्त्रणसँगै स्थानीय समुदायले सुरक्षाको प्रत्याभूति महसुस गर्न थालेको छ। सीमावर्ती क्षेत्रमा तस्करीलाई सामान्य र दैनिकी जस्तै मान्ने प्रवृत्ति तोड्दै एसपी भट्टले सुरक्षाको कडाइ र जनसहभागिता दुवैलाई समान महत्व दिएका छन् ।
उनको सक्रियताले सुरक्षाकर्मीहरूको मनोबल उच्च बनेको छ भने स्थानीय बासिन्दाले सुरक्षा निकायप्रति विश्वास गर्ने आधार पनि पाएका छन् ।
उदाहरणीय नेतृत्व
सुरक्षाको क्षेत्रमा परिणाममुखी कार्यशैली प्रस्तुत गर्ने एसपी पुरन चन्द्र भट्टको पहल आज पर्सा मात्र होइन, समग्र सीमा सुरक्षाको लागि उदाहरणीय बनेको छ।
सुरक्षाविद्हरूको मूल्यांकनमा, “तस्करी नियन्त्रणमा एसपी भट्टको नेतृत्व एक सकारात्मक मोडेलको रूपमा स्थापित हुँदै गएको छ।”
तस्करी नियन्त्रण, भन्सार छली रोकथाम र सीमा सुरक्षामा उनका कदमहरूले मुलुकको अर्थतन्त्र सुरक्षित गर्ने मात्र नभई राज्यप्रति नागरिकको विश्वास र सुरक्षाको अनुभूति समेत मजबुत बनाउन योगदान पुर्याएको छ।