पर्सा, असोज १८ – सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा पर्साले विशेष सूचनाका आधारमा पर्सा जिल्लाको धोविनी गाउँपालिका–२, आस्वारी क्षेत्रबाट भारतबाट अबैध रूपमा ल्याइएको करिब रु.८,००,००० बराबरको प्रतिबन्धित ब्रोईलर कुखुराको चल्ला (१० हजार गोटा) बरामद गरी नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा पर्सा, प्रसीसु गुल्म भिखमपुर, बीओपी मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाई–छिपाई ल्याइएको कुखुराका चल्ला नियन्त्रणमा लिएको हो ।
उक्त चल्ला प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरको पेरिमिटरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुरज कार्कीले जानकारी दिए ।
उनका अनुसार उक्त कार्य नेपाल प्रहरी, स्थानीय पत्रकार, क्वारेन्टाइनका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहबरमा सम्पन्न गरिएको हो । चल्ला ल्याउन प्रयोग गरिएको मोटरसाइकल भन्सार बुझाउने प्रक्रिया अगाडि बढाइएको पनि जानकारी गराइएको छ ।
अवैध रूपमा आयातित कुखुराको चल्ला सार्वजनिक स्वास्थ्य र पशु सम्पदामा नकारात्मक असर पार्न सक्ने भएकाले सशस्त्र प्रहरी बलले नियमित रुपमा निगरानी र कारवाही तीव्र पारेको जनाएको छ ।