२८ जेठ बीरगञ्ज - शनिबार अपराह्न ४ बजे सिन्धुलीको फिकल गाउँपालिका-५ झगडेवेसीस्थित भित्री सडकमा दुई प्रहरी सवार प्रदेश ३-०२-००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रविन्द्र कुमार ठाकुर र सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए।
सिन्धुलीका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक केशव कुमार कटुवालका अनुसार मोटरसाइकल असई ठाकुरले चलाएका थिए। भित्री कच्ची सडकमा मोटरसाइकल आफै अनियन्त्रित भएर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।गम्भीर घाइते भएका उनीहरूलाई खुर्कोटस्थित सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो।
अस्पताल पुर्याउनेबित्तिकै असई ठाकुरलाई चिकित्सकले मृत घोषणा गरेका थिए। सहायक हवलदारलाई भने हेलिकप्टरबाट काठमाडौं ल्याइ प्रहरी अस्पताल पुर्याइएकोमा उनलाई पनि चिकित्सकले मृत घोषणा गरेको इन्सपेक्टर कटुवालले जानकारी दिए ।
मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका-९ घर भई प्रहरी चौकी रत्नावतिमा कार्यरत प्रहरी सहायक निरीक्षक रविन्द्र कुमार ठाकुरको मृत्यु भएको हो।यसैगरी तनहुँको भिमाद नगरपालिका-७ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हबलदार सूर्य कुमार श्रेष्ठ चिकित्सकले मृत घोषणा गरेको छ ।
दुवैको शव कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको उनले बताए।