कार्तिक- २१, वीरगंज  वीरगंज महानगरपालिका वडा नं. १ स्थित छपकैयामा इलाका प्रहरी कार्यालय छपकैया, बेसक्याम्प सिरिसिया, र स्थानीय बासिन्दाहरूको अगुवाइमा छठ घाट सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

यस कार्यक्रम अन्तर्गत छठ पर्वलाई लक्षित गरि स्वच्छ र पर्ब सुरक्षित वातावरणमा मनाउनका लागि छठ घाट तथा आसपासको क्षेत्रमा  सरसफाइ गरियो । स्थानीय बासिन्दाहरू, प्रहरी, र विभिन्न संघ-संस्थाको सहभागितामा गरिएको सरसफाइ अभियानले छठ घाटलाई व्यवस्थित र सुन्दर बनाउने लक्ष्य राखेको थियो।

भोलि कार्तिक २२ गते बिहीबारको दिन महान पर्वको रुपमा छठ पर्व मनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।  

सूर्यदेवको उपासना गर्दै चार दिनसम्म श्रद्धापूर्वक मनाइने छठ पर्व विधिवत् रुपमा सुरु भएको छ ।

पहिलो दिन ब्रतालुले स्नान गरी अरबा–अरबाइन भोजन ग्रहण गर्ने गर्छन् । पारिवारिक सुख-समृद्धि एवं सन्तानको कल्याणका लागि मनाइने यस पर्वको दोस्रो दिन खरना को दिन साँझ ब्रतालुले चामल, सक्खर र दूधबाट तयार गरिएको खीर प्रसादको रूपमा ग्रहण गरी खरना विधि पूरा गर्नेछन् । तेस्रो दिन बिहीबार छठको मुख्य दिन सौझकारक रहेको छ । यो दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा सामग्री सहित जलाशय किनारमा अर्घ दिने परम्परा छ । अन्तिम दिन शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधिवत् समापन हुनेछ । यस दिनलाई पारन भन्ने गरिन्छ ।