बीरगंज, २४ चैत्र, – सशस्त्र प्रहरी बल, नेपालले भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका कपडासहितको पिकअप गाडी नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा बीरगंजबाट बारा जिल्लातर्फ लैजाँदै गरेको उक्त गाडीलाई पिछा गर्दै जितपुर सिमरा उपमहानगरपालिका–२३, भलुवही गाउँमा फेला पारेको हो ।
साघुरो गल्लीमा पार्क गरिएको बा.प्र.०१–०२७ च ८५०३ नम्बरको सेतो रंगको टाटा YOUDH SINGLE CAB गाडीलाई चालक फरार अवस्थामा फेला पारिएको सशस्त्र प्रहरी बल, पर्साका सूचना अधिकारी डिएसपी देवेन्द्र बहादुर सिंहले जानकारी दिए । गाडीभित्र सर्टिङ, सुटिङ, सारी, कुर्ता–सुरुवालजस्ता कपडाहरू लोड गरिएको थियो ।
बरामद गरिएको कपडाको मूल्य रु. १०,०७,९००।– रहेको र गाडीको भन्सार दाखिला मूल्य रु. २५,००,०००।– रहेको हुँदा कुल मूल्य रु. ३५,०७,९००।– बराबरको गाडी र सामान आवश्यक कानुनी कारबाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको डिएसपी सिंहले बताए ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा अवैध क्रियाकलाप रोक्न सक्रिय रुपमा निगरानी र कारबाही जारी राखेको छ ।