१४ साउन बीरगञ्ज - एउटा घटना नसेलाउँदै अर्को दुःखद घटना भएको छ ।पोखरामा आज बिहान स्कुल बस दुर्घटना भएको छ ।पोखरा महानगरपालिका वडा नम्बर २१ मट्टीखान जाने बाटोमा ग१क ६२१९ नम्बरको स्कुल बस आज बिहान ८ः३० बजे पोखरा २१ रामदीबाट बिरौटास्थित विद्यालयमा फर्कने क्रममा फुर्सेखोला नजिकै माथिल्लो सडकबाट पल्टिएर तल्लो सडकमा बजारिएर दुर्घटना भएको हो ।
सोही दुर्घटनामा बसकी सहयोगी पोखरा-२१ की ३३ वर्षीया आरती विकको घटनास्थलमै मृत्यु भएको थियो । सोही बसमा ४ वर्षीय प्रिन्स विक गम्भीर घाइते भएका उनलाई गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।मृतक आरती र प्रिन्स आमा-छोरा रहेको बताइएको छ ।
दुर्घटनामा २७ जना विद्यार्थी र चालक घाइते भएका छन् । घाइते हुने चालकमा पोखरा-१७ का ५८ वर्षीय टेकबहादुर भुजेल रहेका छन् ।
घाइते विद्यार्थीमा पोखरा-२१ की ८ वर्षीया अनन्या पौडेल, ३ वर्षीया सिम्रन मगर, ३ वर्षीया न्यूजन मगर, ७ वर्षीय रिजन मगर, १२ वर्षीय रामकृष्ण नेपाली, २ वर्षीय अंकित खत्री, १४ वर्षीया सीतादेवी विक, ७ वर्षीया अमिना सुनार, ११ वर्षीय निश्चल विक, २० वर्षीय निर्दोष विक छन् । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, ९ वर्षीय दिवस कार्की, ९ वर्षीय अनमील विक, ५ वर्षीय रोशनराज बराल, पोखरा १७ का १३ वर्षीया चिना गुरुङ, ६ वर्षीय युजन गुरुङ, पोखरा-२१ का ९ वर्षीय प्रवेश कामी, १४ वर्षकी प्रकृति कामी, पोखरा-१७ की सिजा विक, पोखरा-२१ की १२ वर्षीया सिम्रन विक, ११ वर्षीय विश्वास पौडेल, १२ वर्षकी विशिका पौडेल, १६ वर्षीय प्रिन्स राना, ११ वर्षीय विवश खत्री र ३२ वर्षीय सपना आले छन् । उनीहरुको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
उक्त बसमा एलपी देवकोटा मेमोरियल इङ्लिस स्कुलका विद्यार्थी सवार थिए।