१२ साउन बीरगंज -सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जका गुल्मपति डिएसपी पुरुषोत्तम भण्डारीको कमान्डमा तस्करी नियन्त्रण अभियान तीव्र गतिमा अघि बढिरहेको छ। हालै एकैदिन दुई स्थानमा गरिएका छापामार कारवाहीबाट ७ लाख ६ हजार ६ सय रुपैयाँ बराबरका भन्सार छलिएका अवैध कपडा बरामद हुनु डिएसपी भण्डारीको कुशल नेतृत्वको प्रमाण हो।
गत साउन ११ गते प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगञ्ज–१०, आदर्शनगरका दुई छुट्टाछुट्टै स्थानमा छापा मारेको थियो। साँझ ४:३५ बजे आदर्शनगरस्थित एक गोदाममा चोरी पैठारी गरिएका रेडिमेड कपडाहरू बरामद गरिए भने दोस्रो छापा साँझ ५:५५ बजे अरुण कुमार तेलीको घरमा मारिएको थियो, जहाँ पुनः ठूलो परिमाणमा कपडा फेला परेको थियो।
यस सफल अपरेसनमा डिएसपी भण्डारीको नेतृत्वमा १५ जना सशस्त्र प्रहरी सहभागी थिए, जसलाई भन्सार कार्यालयका नायब सुब्बा सुवर्ण पौडेलसहित ३ जना कर्मचारीले साथ दिएका थिए। बरामद सबै कपडा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ।
डिएसपी भण्डारी सशस्त्र प्रहरी बलभित्र एक कुशल तथा योजनाबद्ध अधिकृतका रूपमा परिचित छन्। उनी विपद् व्यवस्थापनमा दक्षता राख्नुका साथै तस्करी नियन्त्रणजस्ता जटिल कार्यमा समेत निडरता र रणनीतिक क्षमताका साथ अघि बढ्ने नेतृत्वकर्ता हुन्। उनको कार्यशैलीले वीरगञ्जको सीमा क्षेत्रमा हुने अवैध कारोबारमा स्पष्ट असर पारेको छ।
स्थानिय व्यापारी, भन्सार प्रशासन, सुरक्षाकर्मी तथा सर्वसाधारणले डिएसपी भण्डारीको सक्रियता र प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। स्थानीय जानकारहरू भन्छन्, “डिएसपी भण्डारीको कमान्डमा सुरु भएको तस्करी नियन्त्रण अभियान प्रभावकारी मात्र होइन, दीर्घकालीन समाधानतर्फ उन्मुख देखिन्छ।”
सशस्त्र प्रहरी बलले आगामी दिनहरूमा अझ कडा निगरानीसहित सीमा क्षेत्रमा यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। तस्करी नियन्त्रणमा डिएसपी भण्डारीले देखाएको सक्रियता र नेतृत्व अहिले उदाहरणीय बन्दै गएको छ।