वीरगञ्ज, चैत १५ – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. १० आदर्शनगरस्थित श्री रामचरण साह पन्नालाल माध्यमिक विद्यालयमा लागुऔषध दुर्व्यसन सम्बन्धि जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र तथा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगर १० को संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम ग्रीनसिटीका अध्यक्ष जय प्रकाश खेतानको सभापतित्वमा सम्पन्न भएको थियो भने वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीहरू, संचारकर्मी, सुरक्षाकर्मी, तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
SEE परीक्षाको अन्तिम दिन पारेर आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसनसम्बन्धी विस्तृत जानकारी प्रदान गरियो। "लागुऔषध भनेको के हो?", "यसले मानिसको स्वास्थ्यमा कस्तो असर पार्छ?" तथा "लागुऔषध दुर्व्यसनबाट कसरी जोगिने?" जस्ता विषयमा २५० जना विद्यार्थीहरूलाई जानकारी दिइयो। साथै, उनीहरूलाई सचेतनामूलक पम्पलेट पनि वितरण गरिएको थियो।
कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्ल, नियमित खबरकी संचालिका एवं संचारकर्मी सुष्मिता यादव, वडा प्रहरी कार्यालय वीरगंजका प्रहरी सहायक निरीक्षक जय किशोर यादव, सशस्त्र प्रहरी सहायक निरीक्षक लगायतको सहभागिता रहेको थियो।