मिति २०८० चैत्र १५ गते विहिवार देखि संचालन हुन गइरहेको एस.ई.ई. परीक्षा को लागी जिल्ला प्रसाशन कार्यालय पर्साले स्वच्छ र मर्यादित बनाउन सबै पक्षबाट पूर्ण सहयोग गरिदिनु हुन हार्दिक अपिल गरेको छ ।

पर्सा जिल्लामा १००६८ विधार्थीहरुका लागि २६ वटा परीक्षा केन्द्रबाट एस.ई.ई. परीक्षा दिने व्यवस्था मिलाईएको छ । परिक्षार्थी र परीक्षाकेन्द्र लगायत परीक्षासँग सम्बन्धित सबै पक्षमा सुरक्षा प्रबन्ध सहित सबै तयारी पुरा भैसकेको जिल्ला प्रसाशन कार्यालयले जनाएको छ ।

परिक्षार्थीलाई परीक्षा केन्द्रमा जान आउन र परीक्षाका लागि स्वच्छ वातावरण वा ध्वनी प्रदुषणमुक्त वातावरण बनाई दिनु हुन सबै प्रति हार्दिक अनुरोध समेत गरेको छ । 

परीक्षाको समयमा अनुगमनको जिम्मेवारी पाएका व्यक्तिहरुबाट मर्यादित ढंगले परीक्षार्थीलाई कुनै अवरोध नहुने तवरले अनुगमन गर्न र परिक्षाकेन्द्रमा पुग्ने सञ्चारकर्मीले केन्द्राध्यक्षसँग समन्वय गरी केन्द्राध्यक्षले मिलाएको पालो र समयमा मात्र परीक्षाको सूचना संकलन गर्ने व्यवस्था मिलाउनु हुन पनि अपिल गरेको छ ।


परीक्षालाई अमर्यादित बनाउने कुनै पनि क्रियाकलाप कानून बमोजिम दण्डनीय छ । यस प्रति सचेत भई एस.ई.ई. परीक्षार्थीलाई मर्यादित र स्वच्छ वातावरण तयार गरिदिनुहुन सबै सरोकारवाला प्रति अनुरोध गर्दै एस.ई.ई. परीक्षार्थी सबैमा सफलताको शुभकामना ब्यक्त समेत अपिल पत्रमा उल्लेख गरिएको छ ।