७ साउन बीरगञ्ज - सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी दीपक श्रेष्ठका अनुसार सर्लाहीको चन्द्रपुर गाउँपालिका-१ रतनपुरस्थित घरको कोठाभित्र ८० वर्षीय रायको आइतबार राति हत्या भएको हो।उनको हत्या भएको खबर आइतबार राति १ बजे प्रहरीसमक्ष पुगेको थियो।
पूर्व राज्यमन्त्री राय आइतबार मात्रै रतनपुर आएका थिए। उनी परिवारसहित मलंगवामा बस्छन्। रतनपुरमा भएको त्यो घर पुरानो रहेको र त्यहाँ उनको खेतीपाती हुनाले उनी खेतीपाती हेर्न आइरहेका हुन्छन् । उक्त घरमा एक जना खाना बनाउने भान्से पनि राखेका चन्द्रपुर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।
आइतबार राति खाना खाइसकेपछि तीन जना व्यक्तिहरू रायलाई भेट्न आएको ती भान्सेले बताएका छन्।
घटनास्थल पुगेको प्रहरीले उनलाई कोठाभित्र मृत अवस्थामा भेटाएको थियो। डिएसपी श्रेष्ठका अनुसार रायको टाउको धारिलो हतियार प्रहार भएको देखिएको छ। उनको टाउकोको बायाँ भागमा चोट छ।
सोमबार बिहान प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुख पनि घटनास्थल पुगेका छन्। अनुसन्धानका लागि तालिमप्राप्त कुकर पनि परिचालन गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ। राय ३० वर्षअघि राप्रपाबाट राज्यमन्त्री थिए।
प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।