बिरगंज, माघ २९पर्सा जिल्ला क्षेत्र नम्बर १ मा नेपाली कांग्रेस का उम्मेदवार अनिल रुङटा को पक्षमा समर्थन लहर तीव्र बन्दै गएको छ ।

बुधबार वीरगञ्ज महानगरपालिका–३२ टेडामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले सार्वजनिक रूपमा रुङटालाई समर्थन जनाएका छन् । मतदातासँगको भेटका क्रममा स्थानीय बासिन्दाहरूले रुङटाप्रति आशा व्यक्त गर्दै अब क्षेत्रले इमानदार, जवाफदेही र जनतासँग सधैं सम्पर्कमा रहने नेतृत्व चाहेको बताएका थिए । विगतमा गरिएका वाचा पूरा नभएकाले जनतामा निराशा बढेको उल्लेख गर्दै उनीहरूले यसपटक विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई समर्थन गर्ने धारणा राखेका थिए ।

रुङटाले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै समावेशी विकास, पारदर्शी नेतृत्व र क्षेत्रको समग्र उन्नतिका लागि स्पष्ट योजना प्रस्तुत गरेका थिए। जनताको आवश्यकता र अपेक्षालाई केन्द्रमा राखेर जिम्मेवार तथा परिणाममुखी नेतृत्व प्रदान गर्ने उनको प्रतिबद्धता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मी, पूर्व सभापति अजय द्विवेदी, क्षेत्रीय सभापति अरबिन्द गुप्ता, उपसभापति अनिल सिंह, सचिव हरि यादव, पूर्व क्षेत्रीय सभापति विजय सर्राफ, नेपाल महिला संघ पर्साकी किरण शर्मा, हरिन्द्र यादव, मिन्टु सिंह, जितेन्द्र पुरुष, मनोजा चौधरी, किरण सरकार, सुरेन्द्र लामिछाने, रामनिवास यादव लगायत नेपाल विद्यार्थी संघ र तरुण दलका नेता–कार्यकर्ता तथा स्थानीय अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।