वीरगंजमा सरोकारवालासँग संयुक्त छलफल, दीर्घकालीन समाधानतर्फ पहिलो कदम
वीरगंज — सिर्सिया नदी प्रदूषण नियन्त्रणका लागि वीरगंज महानगरपालिकाले मंगलबार सरोकारवालासँग संयुक्त छलफल गर्दै दीर्घकालीन समाधानका उपायहरूमा गम्भीर कदम चालेको छ । मेयर राजेशमान सिंहको सक्रिय नेतृत्वमा गरिएको यस छलफलले सिर्सिया नदी सफाइ अभियानलाई नयाँ ऊर्जा र दिशानिर्देशन दिएको सहभागीहरूले बताएका छन् ।
मेयर सिंहले उद्योगहरूबाट निस्कने फोहोर पानीकै कारण सिर्सिया नदी पुनः प्रदूषित हुने खतरा रहेको भन्दै अब केवल “प्रतिबद्धता” होइन, “परिणाम” देखिने बेला आएको स्पष्ट सन्देश दिनुभयो ।
“कारखाना निर्वाध चल्नुपर्छ, तर प्रदूषण नियन्त्रण अनिवार्य छ,” उहाँले भन्नुभयो, “सबै जिम्मेवार भएर अघि बढे मात्र सिर्सिया सफा र सुन्दर बन्न सक्छ ।”
महानगरले यसअघि पनि प्रदूषण नियन्त्रणका प्रयासमा अटेरी उद्योगहरूलाई जरिवाना र चेतावनी दिएको थियो । सिंहले भने, “हाम्रो उद्देश्य उद्योग बन्द गर्नु होइन, वातावरणमैत्री उत्पादन प्रवृत्ति विकास गर्नु हो ।”
पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सिर्सियालाई मानव सभ्यताको प्रतीक बताउँदै प्रदूषण नियन्त्रणमा लापरवाही गर्ने उद्योगहरूलाई कडा चेतावनी दिए ।
बाराका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले पनि “जथाभावी नदीमा प्रदूषित पानी मिसाउनु दण्डनीय कार्य हो” भन्दै कानूनी कारबाहीको तयारी संकेत गर्नुभयो ।
मधेस प्रदेश उद्योग विभागका महानिर्देशक सुशील साहले भने, “केवल प्रतिबद्धताले होइन, व्यवहारिक कार्यान्वयनले मात्रै परिणाम देखिन्छ,” भन्दै उद्योग र वातावरण संरक्षण एकसाथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
छलफलमा उद्योग वाणिज्य संघका अध्यक्षहरू अशोक टेमानी, हरि गौतम, र मोहन शर्माले दीर्घकालीन समाधानका लागि एकीकृत ट्रिटमेन्ट प्लान्ट निर्माण र पर्यटनसँग जोडिएको सिर्सिया विकास योजनाका प्रस्तावहरू राखे ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मी र जितपुर सिमरा उपमहानगरपालिकाका उप–प्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रूपमा नदी संरक्षणमा सहकार्य गर्ने प्रतिबद्धता जनाए । अधिकारीले भने, “नन्दन र गणपति घ्यु उद्योग, हुलास स्टिल, अशोक स्टिल जस्ता ठूला उद्योगहरूले पनि अब सचेत हुनुपर्छ ।”
छलफलमा सहभागी सरोकारवालाहरूले सर्वसम्मत रूपमा सिर्सिया सफाइलाई प्राथमिकता दिने, प्रदूषण नियन्त्रणका लागि ठोस कार्ययोजना बनाउने, र नियमित अनुगमनलाई प्रभावकारी बनाउने निष्कर्ष निकालेका छन् ।
मेयर सिंहको दृढता, तीन तहका सरकारको सहकार्य र उद्योगीहरूको प्रतिबद्धता मिलेर सिर्सिया सफा बनाउने अभियानले अब वास्तविक रुप लिन थालेको विश्वास व्यक्त गरिएको छ।