२४ जेठ जनकपुरधाम   — मधेश प्रदेश सरकारले जेठ २८ गते (११ जुन २०२५, बुधबार) को दिन कबीर दास जयन्ती को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ। 


गृह, सञ्चार तथा कानून मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा सो दिन प्रदेशभरका सरकारी कार्यालय, सार्वजनिक संस्था तथा शैक्षिक निकायहरू बन्द रहने उल्लेख गरिएको छ।

कबीर दासलाई सामाजिक समानता, धार्मिक सहिष्णुता र जातिविहीन समाजका पक्षधरका रूपमा सम्मान गरिन्छ। उनले भक्ति आन्दोलनमा महत्वपूर्ण योगदान दिएका थिए र आज पनि उनको विचारले समाजमा प्रभाव पार्दै आएको छ।

मधेश प्रदेश सरकारका अनुसार कबीर दासको विचार र शिक्षालाई सम्मान गर्न, त्यस दिन सार्वजनिक कार्यक्रम, विचार गोष्ठी तथा श्रद्धाञ्जलि सभाहरू आयोजना गरिने अपेक्षा गरिएको छ।

यसअघि मधेश प्रदेश सरकारले वैशाख २३ गते जानकी नवमी (सीता जयन्ती) को अवसरमा पनि सार्वजनिक विदा दिएको थियो।