धादिङ जिल्लाको पृथ्वी लोकमार्गबाट ठुलो परिमाणको लागू औषध गाँजा सहित ट्रक नियन्त्रण गरिएको छ ।
मिनीट्रकमा लोड भई पूर्वबाट पश्चिामतर्फ लैजादै गरेको भन्ने विशेष सुचना आधारमा प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सी.को कमाण्डमा खटिएको प्रहरी टोलीले सूचनाको विश्लेषण गरी जिल्ला धादिङ गजुरी गाउँपालिका वडा नं-२ बिहानी पेट्रोल पम्प स्थित पृथ्वी लोकमार्गमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी चाउचाउ र विस्कुटको खोल टासेर कुल तौल ६२०.४४ के.जी.( छ सय वीस के.जी. चौवालिस ग्राम) भएको लागू औषध गाँजा ४५ (पैतालिस) प्याकेट फेला पारी रीतपूर्वक बरामद गरिएको हो ।
उक्त मिनिट्रक चालक जिल्ला सर्लाही लालबन्दी नगरपालिका वडा नं.७ वस्ने वर्ष-३० को सन्तोष कुमार साहलाई पक्राउ गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
साथै बरामद गरिएको गाँजा बिक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी समेत दिएको छ ।