२३ जेठ बीरगंज – भन्सार छली गरी अवैध रूपमा भित्र्याइएका करिब रु. ४,००,८०० बराबरका चक्लेट, खजुर र स्प्रे पेन्ट सशस्त्र प्रहरीले पर्साको एक गाई गोठबाट बरामद गरेको छ।


सशस्त्र प्रहरी बल,नेपाल प्र.सी.सु.गुल्म बीरगंजका डिएसपी लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोली र बीरगंज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले बीरगंज महानगरपालिका–८, गहवाटोलस्थित मुन्ना हवारीले सञ्चालन गरेको गाई गोठमा विशेष सूचनाका आधारमा छापा मारेको हो।


छानबिनको क्रममा गोठमा बिभिन्न प्रकारका चक्लेट, खजुर र स्प्रे पेन्ट भण्डारण गरी राखिएको फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्। ती सामग्रीहरू भारतबाट भन्सार छलि अवैध रूपमा भित्र्याएर लुकाएर राखिएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।

बरामद सामग्रीको भन्सार मूल्य रु. ४,००,८००।– रहेको र ती सबै सामग्रीहरूलाई आवश्यक कारवाहीका लागि बीरगंज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी देबेन्द्र बहादुर सिंहले जानकारी दिएको छ।

सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले निगरानी थप कडा बनाउँदै आएको छ। यसै सिलसिलामा गरिएको यो अपरेशन डिएसपी सुब्बाको नेतृत्वमा भएको सफल कारबाहीका रूपमा लिइएको छ।