राष्ट्रियसभाको उपाध्यक्ष पदमा सत्ता गठबन्धनबाट पर्साकि उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहितका दलले भने उम्मेदवारी दिने/नदिनेसम्बन्धमा निर्णय गरेका छैनन् ।

राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि आइतबार मनोनयन दर्ता हुँदै छ । सङ्घीय संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको उपाध्यक्ष पदको मनोनयन प्रस्ताव आइतबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म दर्ता हुनेछ । मनोनयन दर्ता नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । 

नेकपा (माओवादी केन्द्र)की नेतृसमेत रहेकी अर्यालले सत्ता पक्षबीच राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादी केन्द्रले दाबेदारी दिने सहमति भएबमोजिम आइतबार आफूले उम्मेदवारी दिने जानकारी दीइन् । लामो समयसम्म नेकपा (एमाले)मा रहेकी अर्यालले दोस्रो संविधानसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेकी थिइन् । राष्ट्रियसभामा उनि मधेश प्रदेशबाट सदस्य निर्वाचित भएकी हुन् ।